हङकङ–नेपाली ब्यापार संघले दुई बर्ष अघि राष्ट्रिय आविष्कार केन्द्रको नाममा हङकङका संघसंस्था र ब्यक्तिहरुबाट उठाएको करिब एक करोड नगद मध्ये २५ लाख रुपैया मात्र राष्ट्रिय आविष्कार केन्द्रको बैंक खातामा जम्मा गर्न सकेकोछ ।
हङकङ–नेपाली ब्यापार संघले दुई बर्ष अघि राष्ट्रिय आविष्कार केन्द्रको नाममा हङकङका संघसंस्था र ब्यक्तिहरुबाट उठाएको करिब एक करोड नगद मध्ये २५ लाख रुपैया मात्र राष्ट्रिय आविष्कार केन्द्रको बैंक खातामा जम्मा गर्न सकेकोछ । २ डिसेम्बर (१८ मंसीर) सोमवार काठमाण्डौ स्थित एनआरएन भवनको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि केन्द्रका अभियन्ता डा.महावीर पुनलाई ४० लाखको डमी चेक हस्तान्तरण गरिएपनि बैंकमा नगद चाहिं २५ लाख मात्र जम्मा भएको महावीर पुनले पुष्टि गरेकाछन् । २५ लाख रुपैया कार्यक्रमको भोलिपल्ट अर्थात १९ मंसीरमा जम्मा गरिएकोछ ।
हङकङ–नेपाली ब्यापार संघका अध्यक्ष प्रकाश पुनले महावीरलाई १५ लाख रुपैया संघका उपाध्यक्ष सुमन थापाले जम्मा गरिदिने बताएपनि यो समाचार लेखिदासम्म उक्त रकम अझै जम्मा भएकोछैन । कार्यक्रममा भने एनआरएनएका संस्थापक अध्यक्ष तथा उद्यमी उपेन्द्र महतोको हातबाट ४० लाखको डमी चेक हस्तान्तरण गरिएकोथियो । महावीर पुनलाई १५ लाख आजभोलिमै जम्मा गरिदिने बताईएकोछ । तर बाँकी रकम जम्मा गरिदिनेबारे केहि बताइएकोछैन ।
एक करोडको बाचा
२ जनवरी २०१७ मा विधिवत घोषणा गरिएको हङकङ–नेपाली ब्यापार संघले २६ जुन २०१७ राती भब्य च्यारिटि डिनरको आयोजना गरि राष्ट्रिय आविष्कार केन्द्रका निम्ति रकम संकलन कार्यक्रम आयोजना गरेकोथियो । कार्यक्रममा डिनरमा प्रायोजन, टेबल क्यास र बोलकबोलको माध्यमबाट ७ लाख ६५ हजार ७७३ हङकङ डलर अर्थात् करिब एक करोड रुपैया जम्मा गरिएकोथियो ।
साँझ ७ बजेदेखि मध्यरातसम्म चलेको कार्यक्रममा ५ सय भन्दा बढी मान्छे सहभागी भएर आविष्कार केन्द्रका लागि महादानमा सहभागी भएकाथिए । कार्यक्रममा सबैभन्दा बढी पुन मगर समाज हङकङले ७ लाख र हङकङकै पर्वत पुन मगर कल्याणकारी कोषले ४ लाख ८ हजार सहयोग दिएकाथिए। विभिन्न संघसंस्था र ब्यक्तिहरुले स्वंय महावीरलाई भेटी सहयोग रकम र डमी चेक हस्तान्तरण गरेकाथिए । कार्यक्रमलाई यत्तिको भव्यता प्रदान गर्न ब्यापार संघका अध्यक्ष प्रकाश पुन र उनको टिमले निकै मिहिनेत गरेको थियो।
संघले १४ जुलाईका दिन आयोजना गरेको पत्रकार सम्मेलनमा संघका महासचिव रामकाजी गुरुङ र सहकोषाध्यक्ष अर्जुन गौचनले च्यारिटी डिनरमा उठेको हिसाबकिताब वाचन गरेर सुनाएका थिए। उठेको कुल रकममध्ये विभिन्न शीर्षकमा २ लाख ६४ हजार २३५ डलर कट्टा गरी बाँकी ५ लाख १ हजार ५३८ हङकङ डलर (७० लाख रुपैया ) तत्काल हस्तान्तरण गर्ने बताईएकोथियो।
च्यारिटी डिनर कार्यक्रम र पत्रकार सम्मेलनमा संघका अध्यक्ष प्रकाश पुनले उठाईएको रकममा थप गरि एक करोड रुपैया महावीरलाई हस्तान्तरण गर्ने बाचा गरेकाथिए । ‘एक करोड छाड्नोस्, दुई बर्ष पुग्दा समेत उठेको ७० लाख सम्म महावीरले हात पारेका छैनन ।’ राष्ट्रिय आविष्कार केन्द्रका एक सदस्य हाँस्दै भन्छन्, ‘ दुई बर्षमा ७० लाखको ब्याज मात्र हिसाब गर्दापनि एक करोड त त्यसै पुग्यो होला ।’
हङकङबाटै २ करोड
यसअघि नै महाबीरकै गृहजिल्ला म्याग्दीबासीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले भैलो खेलेर ६० लाख ३० हजार रुपैयाँ जम्मा गरिदिएको थियो। त्यो सहयोग ३४६ जनाले गरेका थिए। त्यसैगरी भारतीय गोर्खा भूतपूर्व सैनिक संघले महाबीरको नाममा साँस्कृतिक कार्यक्रम आयोजना गरि त्यसबाट उठेको रकम मध्येबाट ५ लाख रुपैयाँ दिने बाचा गरेकोथियो ।
महावीर हङकङ पुगेको अवसर छोपी हिमालय ट्राभल्स हङकङले आफ्नो फेसबुकबाट आर्थिक संकलन प्रारम्भ गरेको थियो। यस काममा सक्रियतापूर्वक लागेका ट्राभल्सका प्रबन्ध निर्देशक रत्न काफ्लेले १८२ जनाबाट हङकङ डलर १ लाख १ हजार ३१८ (साढे १३ लाख रुपैयाँ) सहयोग संकलन गरि सो रकम र दाताको नामावली पुनलाई हस्तान्तरण गरेकाथिए।
त्यसैगरि मगर संघ हङकङको अगुवाईमा संघकै कार्यालयमा भएको कार्यक्रममा बिभिन्न ब्यक्ति र संस्थाहरुले ८ लाख १६ हजार ९०० रुपैयाँ सहयोग गरेकाथिए ।
ब्यवसायी कमल पौड्यालले पनि नयाँ उपाय फुराएका थिए। पुन मगर समाज हङकङसँग सहकार्य गरी उनले आफ्नो रेष्टुरेन्टमा रात्रीभोज आयोजना गरि सहभागीहरुबाट डिनर बापत उठेको १२ हजार १ सय हङकङ डलर (१ लाख ६० हजार ३२५ रुपैयाँ) महाबीरलाई हस्तान्तरण गरेकाथिए।
किन भो ढिलाई ?
महावीरलाई डमी चेक दिएपनि धेरैको चेक नगदमा परिणत भने हुन सकेको थिएन । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ, मगर संघ हङकङको अगुवाईमा भएको संकलित रकम र ब्यापार संघले लामो समय सम्म रकम हस्तान्तरण नगरिदिएपछि त्यसबारे समाचार प्रकाशित भएकाथिए । समाचार प्रकाशित भएपछि भूतपूर्व सैनिक संघ र मगरसंघले धेरै पछि मात्र सहयोग रकम हस्तान्तरण गरेकोथियो । तिनले विभिन्न प्राविधिक कारण देखाई ढिलाई भएको स्पष्टिकरण दिएकाथिए ।
ब्यापार संघका अध्यक्ष प्रकाश पुनले केहि ब्यक्तिले बोलकबोल गरेका रकम नदिएकोले पैसा हस्तान्तरण गर्न ढिलाई भएको बताएकाछन् । ’केहि ब्यक्तिले कुरा मात्र ठुला गरेर बोलकबोल गरे तर पैसा बुझाउन ढिलाई गरे ।’ अरु बाँकी पैसा कहिले बुझाउने त भनि फ्री प्रेस नेपालको प्रश्नको जवाफमा उनी भन्छन्, ‘ महाबीरको अभियान निरन्तर चलिरहने हुनाले अरु पैसा बिस्तारै बुझाईनेछ ।’